मलेसियामा ८ हजार एमआरपी र नागरिकता अलपत्र
loading...

लामो समयदेखि सम्बन्धित नेपाली लिन नआउँदा जारी भइसकेका करिब ८ हजार प्रति एमआरपी (मेसिन रिडेबल पासपोर्ट) मलेसियामा अलपत्र परेको छ । तीमध्ये अधिकांश २ वर्षअघि केही १ वर्षअघि जारी गरिएका यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

 सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आइकाओ) को प्रावधान बमोजिम हस्तलिखित राहदानी विस्थापन गर्न यही नोभेम्बर २४ भित्रमा एमआरपी बनाउनुपर्ने भन्दै गत सन् २०१० डिसेम्बर २६ देखि वितरण शुरु गरेको थियो ।

उक्त निर्णय लागू भएपछि मलेसियामा हालसम्म करिब १ लाख १० हजार एमआरपी जारी भइसकेका दूतावासको तथ्यांक छ । तीमध्ये करिब १ लाख २ हजारले एमआरपी लिइसकेपनि बाँकी करिब ८ हजार नेपालीले अझैसम्म लिन गएका छैनन् । 

‘२ वर्षअघिदेखि जारी भइसकेका करिब ८ हजार प्रति एमआरपी सम्बन्धित व्यक्ति लिन नआउँदा अहिलेसम्म दूतावासमै छ,’ नेपाली दूतावासका द्वितीय सचिव उत्तम कुमार शाहीले बुधबार कान्तिपुरसँग टेलिफोनमा भने, ‘अब लिन आउन अनुरोध गर्दै सूचना प्रकाशित गर्छौं, त्यसपछि पनि लिन नआएमा मन्त्रालय पठाउँछौं ।’

एमआरपीका लागि आवेदन दिएपछि कतिपय नेपालीहरु कम्पनी छाडेर भागेका वा घर फर्किसकेका कारणले लिन नआएका हुनसक्ने दूतावासको अनुमान छ । त्यतिमात्र होइन, एमआरपी जारी भइसकेका कतिपय नेपालीहरु हस्तलिखित राहदानीमा भिसा भइञ्जेल एमआरपी लिन नआएको हुनसक्ने समेत अनुमान छ ।

द्वितीय सचिव शाहीका अनुसार एमआरपी मात्रै होइन, करिब ७ हजार नेपालीको सक्कली नागरिकताको प्रमाणपत्र पनि दूतावासमै अलपत्र छ । गैरकानुनी आप्रवासी कामदारलाई बैध गराउन ४ वर्षअघि मलेसियाली सरकारले बैधता कार्यक्रम (सिक्स–पी) सञ्चालन गरेको थियो । उक्त कार्यक्रममार्फत वैध हुनुपूर्व राहदानी लिन आउने नेपालीका लागि दूतावासले सक्कली नागरिकताको प्रमाणपत्र पनि अनिवार्य बुझाउनुपर्ने प्रावधान लागू गरेको थियो ।

स्रोतका अनुसार त्यतिखेर राहदानी लिएर वैध भएका नेपालीहरु कतिपय अझै काम गरिरहेका भएपनि अधिकांश घर फर्किसकेको हुनसक्ने अनुमान छ । ‘४ वर्षअघि सिक्स–पी को समयमा राहदानीका लागि बुझाएका करिब ७ हजार नेपालीहरुको नागरिकताको प्रमाणपत्र पनि दूतावासमा छ,’ शाहीले थपे, ‘सम्बन्धित व्यक्ति लिन नआउँदा ती नागरिकता पनि त्यत्तिकै छ । अहिलेसम्म लिन आएका छैनन् । अब ती नागरिकता पनि गृह मन्त्रालयमा पठाउँछौं ।’

Don't Forget To Join US Our Community

pupup