ब्लाटर र प्लाटिनीको मुद्दामा बहस
loading...

लाउसाने– फिफाको न्यायिक इथिक्स कमिटीले अध्यक्ष सेप ब्लाटर र मिचेल प्लाटिनीको भ्रष्टाचार आरोपमा अर्को निर्णय आउनेगरी सोमबार मुद्दा चलाएको छ । न्यायाधीशहरूको समूहमा शनिबार फिफा इथिक्स कमिटीको अनुसन्धान शाखाले तयार पारेको अन्तिम प्रतिवेदन पुगिसकेको छ र त्यसमा दुवैलाई कारबाहीको माग गरिएको छ ।


न्यायाधीशबाट आउने निर्णयले युइएफए अध्यक्ष प्लाटिनीको फुटबलको सर्वोच्च निकायको उच्च पदमा पुग्ने आशा तुहाइदिन सक्छ ।

अनुसन्धान शाखाले जुटाएको प्रमाण र के कति कारबाहीको माग गरेको हो भन्नेबारे खुलासा गरेको छैन । तर, नियम उल्लंघन गरेको आरोपमा दुवैलाई कारबाही हुनसक्ने सम्भावना रहेको छ ।

'अनुसन्धान शाखाले तयार पारेको अन्तिम प्रतिवेदनको आधारमा सेप ब्लाटर र प्लाटिनीविरुद्ध न्यायिक काम कारबाही आधिकारिक रूपमा सुरु भएको छ,' न्यायाधीशहरूको समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दुवैजनाको मुद्दा डिसेम्बरसम्म निर्णय आउने गरी काम भइरहेको छ ।'

फिफा इथिक्स कमिटीले विश्व फुटबलका शक्तिशाली दुवै जनालाई ९० दिने प्रतिबन्ध लगाइसकेको छ ।

फिफाले न्यायाधीश नियुक्त गर्नुअघि ब्लाटर, प्लाटिनी र उनका प्रतिनिधिले प्रतिरक्षाको सक्दो प्रयास गरेका छन् ।

मुद्दालाई नजिकबाट हेरेका स्रोतका अनुसार यदि उनीहरू दोषी प्रमाणित भएमा फ्रान्सका प्लाटिनी र ब्लाटर ५ देखि ७ वर्षको कारबाही हुनसक्ने बताएका छन् ।

उनीहरूमाथि लागिरहेको ९० दिने प्रतिबन्ध जनवरी ५ मा सकिँदैछ । स्विटछ्जरल्यान्डका सरकारी वकिलले ब्लाटर फिफा अध्यक्ष हुँदा टेलिभिजन प्रसारण अनुमति दिँदा भ्रष्टाचार गरेको र पदको दुरुपयोग गरेको आरोपमा कारबाही चलाएको थियो ।

प्लाटिनीले २०११ मा फिफाबाट २० लाख अमेरिकी डलर लिएको आरोप लागेको छ ।

अमेरिकी अधिकारीले फिफाका १४ पदाधिकारी र खेलकुद बजार प्रमुखले १५ करोड अमेरिकी डलर भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेपछि ब्लाटरले फिफा अध्यक्ष पदबाट हट्ने निर्णय गर्दै फेब्रुअरीमा चुनाव गर्ने निर्णय गरिसकेका छन् ।

फिफामा घोटला भएको घटना बाहिर आउँदा संस्थामा व्यापक पुनर्संरचना आवश्यक रहेको मुख्य प्रायोजकहरूले बताउँदै आएका छन् ।

कारबाही हुने निर्णय आएमा ब्लाटरलाई फिफाबाट अलग गराउने छ, जुन उनी आफैले घोषण गरिसकेका छन् । तर, प्लाटिनीको फिफा अध्यक्ष पदमा पुग्ने सपना समाप्त हुनेछ । उनी आफै फेब्रुअरी हुने अध्यक्ष चुनावका उम्मेदवार हुन् । प्रतिबन्धका कारण उनले आफ्नो प्रचारप्रसार तथा तयारी गर्न भने पाएका छैनन् । अध्यक्षका लागि प्लाटिनीसँगै पाँच जनाको उम्मेदवारी परेको छ ।

ब्लाटरले भने प्लाटिनी इमान्दार व्यक्ति भएको र फिफाबाट उनले लिएको रकम कानुनसम्मत भएको बताउँदै चुनाव जित्ने बताएका छन् ।

Don't Forget To Join US Our Community

pupup