कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि मतदान जारी, साँझ ७ बजे सकिने अनुमान
loading...


नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान अझै चार घन्टा चल्ने देखिएको छ ।
कांग्रेसको निर्वाचन समितिका अनुसार दिउँसो साढे २ बजेसम्म १ हजार ४०० मत खसेको छ । कांग्रेसमा कुल मतदाता ३ हजार १ सय ६१ छन् । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘अब चार घन्टा जतिमा मतदान सकिन्छ भन्ने हाम्रो अनुमान छ ।’
राष्ट्रिय सभागृहमा विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान सवा ९ बजे मात्र सुरु भएको थियो । मतदान साँझसम्म चल्ने अनुमानमा मतदान स्थलमा बिजुली बत्तीको व्यवस्था मिलाइसकिएको छ ।
मतगणना आजै
मतदान सकिएलगतै मतगणना सुरु हुनेछ । घिमिरेका अनुसार मतगणना सकिएको एक घन्टापछि सभापतिको मतगणना सुरु हुनेछ ।
सभापति पदको राष्ट्रिय सभागृहमा र अन्य पदको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना गरिने छ ।
बहुमत नल्याए भोलि १० बजे नै मतदान
मतगणना रातभर गरिनेछ । सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला चुनावी मैदानमा छन् ।
सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएमा फेरि मतदान हुनेछ । सभापतिका उम्मेदवारले बहुमत नल्याए भोलि १० बजे नै मतदान हुनेछ ।
अरु पदमा बराबरी मत ल्याए गोलाप्रथा
कांग्रेस निर्वाचन समितिले सभापतिको मतगणनापछि मात्र अरु पदको मत गणना सुरु गर्ने बताएको छ ।
महामन्त्री, कोषाध्यक्षसहितका अन्य पदमा भने धेरै मत ल्याउने उम्मेदवार नै विजयी हुनेछन् । यदि कुनै उम्मेदवारले बराबर मत ल्याएमा गोलाप्रथाबाट निर्णय लिइनेछ ।

Don't Forget To Join US Our Community

pupup