आइसिसीले क्यानलाई तत्काल रकम नपठाउने
loading...

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई पठाउनुपर्ने ६ लाख डलर तत्काल निकासा नगर्ने प्रस्ट पारेको छ । नेपाल क्रिकेट संघ (क्यान) को पत्रको जवाफ दिनेक्रममा आइसिसीले आइतबार आर्थिक पारदर्शिता र प्रशासनिक चुस्तता नअपनाएसम्म रोकिँदै आएको ग्रान्ट तत्काल नपठाउने बताएको हो । 
आइसिसीका विकास निर्देशक टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई समेत बोधार्थ राखेर क्यानलाई पठाएको पत्रमा पछिल्लो १८ महिनादेखि क्यानले आइसिसीको मार्गनिर्देशअनुसार काम नगरेको उल्लेख गरिएको स्रोतले नागरिकलाई जानकारी गराएको छ ।

'उनीहरूले खासगरी आर्थिक, प्रशासनिक लगायतका विषयमा व्यावसायिक व्यवस्थापन खोजेका छन्,' स्रोतले भन्यो, 'आइसिसीले पछिल्लो १८ महिनादेखि नजिकबाट क्यानका गतिविधि अध्ययन गरिरहेका थिए । सुधारका लागि बारम्बार गाइडलाइन दिए पनि क्यानले त्यसअनुसार काम नगरेको भन्दै अहिले पत्राचार गरेका छन् ।'

स्रोतका अनुसार भ्रष्टाचारको मुद्दा खेपिरहेका अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकु¥याल लगायत १० पदाधिकारीले गत साता विशेष अदालतबाट सफाइ पाएपछि क्यानले आइसिसीलाई अवस्था जानकारी गराउँदै अघिल्लो वर्षदेखि रोकिएको रकम निकासा गर्न अनुरोध गरेको थियो । तर, जवाफमा आइसिसीले क्यानसँग स्पष्ट कार्यक्रम माग गरेको र त्यही कार्यक्रमअनुसार मात्र रकम निकासा गर्ने आश्वासन दिएको बताइएको छ ।

'उनीहरूले हामीलाई अझै विश्वास गर्न सकेका छैनन् । नेपालमा बोर्डले नै सबै काम गर्दै आएकोमा आइसिसीले सबै अधिकार सम्बन्धित कर्मचारीहरूमा बाँड्न निर्देशन दिएको छ,' स्रोतले भन्यो, 'यसमा उनीहरूले अदालतबाट सफाइ पाएर आएको क्यान नेतृत्वबाट पनि प्रतिबद्धता खोजे जस्तो देखिन्छ ।'

आइसिसीले क्यानको मात्र विश्वास नगरेकै कारण राखेपलाई पनि बोधार्थ पठाएको स्रोतको दाबी छ । असारमा परिषदको नेतृत्व लिएदेखि नै क्यान पुनर्गंठनको योजना बुनिरहेका परिषदका सदस्यसचिव केशवकुमार विष्टले पनि आइसिसीबाट पत्र आएको बताए । 'आइसिसीले हामीलाई भन्दा पनि क्यानलाई पत्र पठाएको हो । नेपाली क्रिकेटको दुरावस्थाका कारण मैले आइसिसीलाई इमेल गरेको थिएँ । एन्डरसनले क्यानलाई पठाएको आफ्नो पत्रमा मसँगको सम्पर्क पनि उल्लेख गरेका छन्,' टिम एन्डरसनलाई उद्धृत गर्दै विष्टले भने, 'टिमले आफूहरू निरन्तर परिषदसँग सम्पर्कमा रहेको बताएका छन् र वर्तमान क्यानसँग असन्तुष्ट रहेको पनि प्रस्ट पारेका छन् । उनले परिषद वा सरकारबाट नेपाली क्रिकेटको विषयमा हुने कुनै पनि कदमलाई आइसिसीले स्वीकार गर्ने पनि बताएका छन् ।'

अध्यक्ष र महासचिव लगायत १० पदाधिकारीमाथि गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएपछि अभियुक्तहरू आफै पदबाट निस्क्रिय भएका थिए । नेतृत्वको अनुपस्थितिमा कार्यवाहक महासचिवका रूपमा काम गरेका क्यानका सचिव उत्तम कर्माचार्यले आइसिसीबाट पत्र आएको स्विकारे । सरकार वा परिषदको कुनै पनि निर्णय मान्ने आसयको पत्र नआएको उनले प्रस्ट पारे ।

'आइसिसीले हामीलाई साधारणसभाबाट विधान संशोधन गरेर अधिकार प्रत्यायोजन गर्ने लगायतका केही मार्गनिर्देशन गरेको थियो । त्यसमा भएको प्रगतिमा उनीहरूले असन्तुष्टि जनाएका हुन्,' कर्माचार्यले भने, 'आइसिसीले आफूहरू परिषदसँग सम्पर्कमा रहेको बताएको छ । तर, सँगै उनीहरूले आफ्नो गाइडलाइन पूरा नभएको, देशको वर्तमान अवस्था लगायतका कुरा गरेर पठाउनुपर्ने पैसा तत्कालमात्र रोकेको बताएका छन् । उनीहरूले आउँदो साधारणसभाको अवलोकन गरेर सकारात्मक निर्णय लिने पत्रमा लेखेका छन् ।'

आइसिसीले आफ्ना प्रत्येक सदस्य राष्ट्रलाई पठाउने नियमित सहयोग रकम नेपालका हकमा भने अघिल्लो वर्षदेखि रोकिरहेको थियो । आर्थिक अपारदर्शिता, कुशासन लगायतका कारण देखाउँदै आइसिसीले २०१४ को पहिलो किस्ता पठाएपछि बाँकी तीन किस्ता तथा यो वर्षको पूरै रकम रोकिरहेको छ ।

Don't Forget To Join US Our Community

pupup