दसैँको साइत सार्वजनिक
loading...

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टिका र प्रसाद ग्रहणको साइत आगामी असोज १७ गते बिहान १० बजेर १५ मिनेटमा रहेको जनाएको छ ।
यसवर्ष महानवमी र विजयादशमी एकै दिन १७ गते परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ । सरकारी कार्यालयका झण्डा फेर्र्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको जनाइएको छ । यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने पनि समितिका अध्यक्ष गौतमले बताए । असोज १३ गते सोमबार पचली भैरवको यात्रा परेको छ । असोज १५ गते बुधबार फूलपातीका दिन बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ४३ मिनेटमा रहेको छ ।

फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष गौतमले बताए ।  असोज १६ गते बिहीबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ । त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ आदि कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि अध्यक्ष गौतमले बताउनुभयो । असोज १७ गते शुक्रबार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर १५ मिनेटको साइत भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने पनि उनले स्पष्ट पारे । विजयादशमीका दिनमा गरिने तुलजा भवानीको यात्राका लागि १७ गते बिहान १० बजेर २१ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ ।

खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको छ । दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्नेछ । त्यसै दिन कोजाग्रत पूर्णिमा व्रत परेको पनि समितिले जनाएको छ । यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो ।
- See more at: http://nepaliheadlines.com/2014-09-12-07-18-00.html#sthash.ZUIZABVT.dpuf

Don't Forget To Join US Our Community

pupup