कान्तिपुर कर्मचारीमाथि नेकपा-माओवादी आक्रमण
loading...

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका कार्यकर्ताले कान्तिपुर र दी काठमान्डु पोस्टका वितरक/वाहकमाथि आइतबार बिहान राजधानीका विभिन्न क्षेत्रमा योजनाबद्ध आक्रमण गरेका छन्। उनीहरूलाई कान्तिपुर पब्लिकेसन्सका पत्रपत्रिका वितरण गरे ज्यान मार्ने धम्कीसमेत दिइएको पीडितहरूले बताएका छन्।
माओवादीसम्बद्ध 'अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघ' ले बाह्य राजनीतिक कार्यकर्तासमेत परिचालन गरी कान्तिपुर र काठमान्डु पोस्टको वितरण चार दिनदेखि रोक्न खोजिरहेको छ। यो अभियान सफल पार्न माओवादी कार्यकर्तासमेत परिचालन गरिएका छन्।
माओवादी कार्यकर्ताहरूले नम्बरप्लेट छोपेको मोटरसाइकलमा मुख छोपेर आई आइतबार बिहान पत्रिका वितरक/वाहकहरूमाथि जथाभावी आक्रमण गरेका हुन्। उनीहरूलाई धकेल्दै लडाउने, हातपात गर्ने, 'फेरि वितरण गरे मारिदिन्छु' भनेर धम्की दिने काम गरिएको थियो। त्यस क्रममा कान्तिपुरका पाँच वितरक/वाहकहरू घाइते हुनुका साथै उनीहरूको साइकलमाथि पनि आक्रमण भएको छ। सुरक्षाका कारण उनीहरूको नाम सार्वजनिक गरिएको छैन। आक्रमणकारीले पाठकहरूकहाँ वितरण गर्न लगिएको पत्रिकासमेत लुटेका छन्।
नेकपा-माओवादीसम्बद्ध कार्यकर्ताले गरेको यो ज्यादतीको कांग्रेस र एमाओवादीसम्बद्ध मजदुर युनियनहरूले भत्र्सना गरेका छन्। कांग्रेसनिकट कान्तिपुर पब्लिकेसन्स कर्मचारी मजदुर संघका सचिव ढकप्रसाद खतिवडाले कर्मचारीमाथि कुटपिट गर्ने काम ठीक नभएको बताए। उनले भने, 'माओवादीले मुख छोपेर आएर हाम्रा साथीहरूमाथि आक्रमण गरेका छन्, जुन गलत हो। यस्तो क्रियाकलाप गर्ने कान्तिपुरका कर्मचारी हुन सक्दैनन्।' एमाओवादीनिकट अखिल नेपाल सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघका सचिव हरेन्द्र तामाङले पनि कुटपिट गर्न नहुने प्रतिक्रिया दिए। उनले भने, 'अस्त्रबाट केही हुँदैन भन्ने इतिहासका सबै घटनाले देखाएका छन्।' उनले जनताको सुसूचित हुन पाउने अधिकार कसैले रोक्न नपाउनेसमेत उल्लेख गरे।
कान्तिपुरको वितरणमा माओवादी अवरोधलाई प्रेस स्वतन्त्रता, मानव अधिकार र जनताको सुसूचित हुने नैसर्गिक अधिकारविरुद्धको कार्य भन्दै बुद्धिजीवी, अधिकारवादी, विभिन्न दलका नेता, नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, टीबीएन, अकोराब, बान, रिपोर्टर्स क्लबलगायत संघ-संगठनहरूले भत्र्सना गरेका छन्। राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गर्दै कान्तिपुरका प्रकाशन तथा वितरणमा अवरोध गर्ने नेकपा-माओवादीको कार्यप्रति खेद प्रकट गरेको छ।
जोरजबर्जस्ती गलत: एमाले
काठमाडौं - एमालेले कान्तिपुर पब्लिकेसन्सका प्रकाशनहरूको वितरणमा भइरहेको अवरोध तत्काल अन्त्य गर्न माग गरेको छ। एमाले सचिव तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीद्वारा आइतबार जारी विज्ञप्तिमा छलफलद्वारा सहमति गरेर टुंगोमा पुग्नुपर्नेमा जोरजबर्जस्ती गर्ने तरिका गलत भएको उल्लेख छ।
'नेकपा-माओवादीसम्बद्ध अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघका तर्फबाट प्रस्तुत गरिएका मागहरू पूरा गर्न दबाब दिने उद्देश्यले गरिएको यस प्रकारको अवरोधलाई उचित मान्न सकिँदैन,' विज्ञप्तिमा भनिएको छ, 'सञ्चारमाध्यमको निर्वाध सञ्चालन तथा श्रमसम्बन्धका यावत विषयमा देखापर्ने समस्यामा पारस्परिक छलफलद्वारा सहमति गरेर टुंगोमा पुग्नुपर्नेमा जोरजबर्जस्तीको यस्तो तरिका गलत हो।' एमालेले यो स्थितिको तत्काल अन्त्य गरी नागरिकको सुसूचित हुने अधिकार तथा सञ्चारमाध्यमको निर्वाध वितरणको सुनिश्चितताका लागि अविलम्ब वातावरण निर्माण गर्न माग गरेको छ।

Don't Forget To Join US Our Community

pupup