कांग्रेस सभापतिमा देउवा निर्वाचित
loading...


फाल्गुन २४, २०७२- कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् ।

सोमबार  राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो । महामन्त्री कृष्णप्रसाद सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् भने बढी मत ल्याएका देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।

१० औं र १२ आंै महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए ।

सुशील कोइरालाको निधनसँगै मुलुकको ठुलो र पुरानो पार्टी नेतृत्वको बागडोर देउवामा हातमा आएको छ । ०५३ मा नवौ महाधिवेशन झन्डै २० बर्ष कोइराला परिवारमा नेतृत्व रहेको थियो । १३ औं महाधिवेशनबाट पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर आएको छ ।  

२०४८ यताका संसदीय निर्वाचनमा निरन्तर विजय यात्रा जारी राखेका देउवाले पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने २०५८ साउनमा संसदीय दलको नेताबाहेक पटक–पटक हारेको इतिहास यसपटक तोडेका छन् ।

५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार देउवाले पहिलो चरणमा आवश्यक बहुमत सकेनन् । त्यसैले सोमबार भएको दोस्रो चरणको मतदानबाट देउवा सभापति चुनिएका हुन् ।

तीन जना उम्मेदवार भएकाले पहिलो चरणमा ५० प्रतिशन नकटाए दोस्रो चरणमा दुई बढी मत ल्याउनेबीच पुन: निर्वाचन गराउने प्रावधान विधान छ  । त्यसैले दोस्रो चरणको चुनावमा  पहिलो र दोस्रो स्थान हासिल गरेका देउवा  र पौडलबीच प्रतिस्पर्धा भएको हो ।  तेस्रो स्थान हासिल गरेका नेता सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए ।  उनले ल्याएको  र बदर मत समेतका कारणले परिणाम अनिर्णीत भएको थियो । त्यसैले  पहिलो चरणमा देउवालाई जित्नका लागि ११ मत पुगेको थिएन ।

दोस्रो चरणको निर्वाचनमा सिटौलालाई देउवा र पौडेल दुबैले आफ्नो पक्षमा तान्ने कोसिस गरेका थिए । उनले आफ्नै ‘राजनीतिक गुरु’ गिरिजाप्रसाद कोइरालासँग १० औं महधिवेशनमा चुनावी प्रतिस्पर्धा गरेपनि पराजित भए । त्यतिबेला उनले ५ सय ७ मत ल्याएर पार्टीभित्रै गिरिजाप्रसाद कोइराला विरोधी खेमाको नेतृत्व सम्हाले ।

कोइरालाको काम गर्ने शैलीमा असहमति जनाउँदै त्यसपछि देउवा कृष्णप्रसाद भट्टराईको पक्षमा उभिन पुगेका थिए । उनका समकालिन अर्थात सभापतिका प्रतिस्पर्धी रामचन्द्र पौडेलका राजनीतिक गुरु भने कृष्णप्रसाद भट्टराई नै थिए । तर, देउवा दसौं महाधिवेशनपछि गणेशमान सिंह र भट्टराई समूहको विरासत सम्हाल्न पुगेपछि पौडेल कोइराला क्याम्पमा पुगेका हुन् ।

तीनपटक मुलुकको प्रधानमन्त्री बनेका देउवा जीवनको उत्तराद्र्धमा पार्टी सभापति बन्ने उत्कट चाहना थियो । तत्कालिन नेताहरु कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशील कोइराला तीनै जना पार्टी सभापति र प्रधानमन्त्री बनेका थिए । देउवा तीन पटक प्रधानमन्त्री भएपनि पार्टी सभापति बन्न सकेका थिएनन् । ‘देउवाको भित्री इच्छा पनि गिरिजाप्रसाद देखि सुशीलले बनाएको इतिहासलाई निरन्तता दिने थियो’ देउवा निकट एक नेताले भने,‘आजको दिनले त्यो इतिहास निर्माण गरेको छ ।’

देउवा नेपाली राजनीतिका केही कालखण्डका चर्चित पात्र हुन् । पार्टीको निर्णय उल्लंघन गर्दै तत्कालीन माओवादीविरुद्ध लगाएको संकटकालको अवधि थप्ने निर्णय गरेपछि २०५९ सालमा देउवा पार्टीको कारबाहीमा परेका थिए । त्यसपछि कांग्रेस फुटाएर कांग्रेस (प्रजातान्त्रिक) पार्टी गठन गरेका देउवाले २०६४ मा पार्टी एकता गरेका थिए । पार्टी एकतायता संस्थापन र देउवा पक्ष दुई समूहको सधैँ गुटबन्दी हुँदै आएको छ । आन्तरिक पदीय लेनदेनमा ६० र ४० प्रतिशतको भागबन्डा चल्ने गथ्र्याे । अब देउवा आफंै पार्टीको संस्थापन पक्षका रूपमा उदाएका छन् ।

चुनावअघि उनले आफूले जिते पार्टीभित्रको संस्थापन र अर्को पक्ष भन्ने कित्ताकाट समाप्त हुने भन्दै मतदातासमक्ष लबिङसमेत गरेका थिए । यसपटक जसरी पनि निर्वाचन जित्ने योजनाका साथ सुरुदेखि नै रणनीति बनाइरहेका देउवालाई संस्थापन पक्षबाट दुई उम्मेदवार खडा भएपछि परिस्थित अनुकूल बनेको थियो ।
पार्टीभित्र स(साना उपगुट बोकेर बस्ने खुमबहादुर खडका, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, पूर्वसभामुख तारानाथ रानाभाट लगायतका नेताहरूलाई समेत आफ्नो पक्षमा ल्याएपछि देउवालाई थप बल मिल्यो ।

संस्थापन पक्षमै रहेका अर्जुननरसिंह केसीलाई आफ्नो प्यानलमा ल्याएर महामन्त्रीमा अघि सार्ने निर्णय पनि देउवाका लागि सभापति जित्न अनुकूल बन्यो । तेस्रो भएका सिटौलाले दोस्रो चरणको निर्वाचनमा स्पष्ट रुपमा नखुलिदिदा देउवालाई जित्न सहज भयो ।


Don't Forget To Join US Our Community

pupup