कांग्रेस सभापतिमा संस्थापनबाटै तीन उम्मेदवार, पौडेल र सिटौलाको प्यानल घोषणा
loading...


नेपाली कांग्रेसको १३औं महाधिवेशनमा संस्थापन भनिएको पक्षबाट तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

रामचन्द्र पौडेल र कृष्ण सिटौलाले टीम घोषणा गरेका छन् भने सुजाता कोइरालाले एकल उम्मेदवारी घोषणा गरेकी छन् । वरिष्ठ नेता शेरबहादुर देउवाले भोलि टिम घोषणा गर्दैछन् । र, सभापतिमा चार उम्मेदवार हुनेछ ।

बुधबार दिउँसो १ बजे सुजाता कोइरालाले मण्डिखाटारस्थित निवासमै पत्रकार सम्मेलन गरिन् । गिरिजाप्रसाद पुत्री सुजाताले आफू सभापतिको उम्मेदवार भएको भन्दै अब कुनै हालतमा व्याक नहुने बताइन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनिसकेकी ६१ वर्षीया सुजाता झण्डै दुई दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय छिन् ।

उनले आफूसँग ३ सय बढी मत भएको दाबी गर्छिन् । उनले महामन्त्री र कोषाध्यक्षको उम्मेदवारसहितको प्यानल समेत बनाएकी छैनन् । तैपनि पार्टीका नेता कार्यकर्ताले काम गर्नेहरुलाई छान्ने भन्दै आफू विजयी हुने दाबी गर्न भने छाडिनन् ।

अपराहृन साढे ३ बजेतिर वत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा महामन्त्री कृष्ण सिटौलाको टीम घोषणा भयो । उनको टीममा महामन्त्री उम्मेदवारमा गगन थापा छन् भने कोषाध्यक्षमा उमाकान्त चौधरी छन् ।



पार्टीमा सबै संस्थापन पक्ष भएको भन्दै सिटौला र गगनको टीमले संविधान कार्यान्वयन र नेतृत्व परिर्वतनलाई आफ्नो एजेण्डाका रुपमा अघि सारेका छन् । झापाली नेता कृष्ण सिटौला हाल कांग्रेस मनोनित महामन्त्री छन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग निकट रहेर काम गरेका उनले महामन्त्रीमा अघि सारेका गगन पनि कांग्रेसमा निकै लोकप्रिय छन् ।

वत्तिसपुतलीमा सिटौला गगनको कार्यक्रम चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा रामचन्द्र पौडलको टिम घोषणा भयो । कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थापन समूहका धेरै नेताहरुको उपस्थिति थियो ।



सभापतिका आकांक्षी भनिएका प्रकाशमान सिंहले पौडेललाई सभापति र वीपी पुत्र शशांक कोइरालालाई महामन्त्रीमा प्रस्ताव गरे । अर्का आकांक्षी भनिएका पूर्व अर्थमन्त्री डा. रामशरण महतले समर्थन गरे । पौडेल टिममा कोषध्यक्ष घोषणा गरिएको छैन ।

सभापतिको आकांक्षी प्रकाशमानलाई मनोनित उपसभापति र महतलाई मनोनित मन्त्रालयको आश्वासन दिइएको छ । कार्यक्रममा डा. मिनेन्द्र रिजाल, महेश आचार्य, दिलेन्द्र बडू, आनन्द ढुंगाना, नविन्द्रराज जोशी, धनराज गुरुङ लगायतको उपस्थिति थियो ।

सभापतिका चौथो उम्मेदवार शेरबहादुर देउवा हुनेछन् । उनको टिम बिहीबार मात्र घोषणा हुनेछ । उनको टीममा महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव रहनेछन् ।

सुदुरपश्चिमका देउवा १२ औं महाधिवेशनमा सभापतिको चुनावमा सुशील कोइरालासँग पराजित भएका थिए । ६९ वर्ष देउवा तीनपटक प्रधानमन्त्री भइसकेका छन् र संस्थापनमा तीन उम्मेदवार हुँदा उनको टीममा भने खासै समस्या देखिएको छैन ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत मतदाताको समर्थन आवश्यक पर्छ । पहिलो चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेको खण्डमा बढि मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने छ ।

दोस्रो चरणमा बढि मत ल्याउने उम्मेदवारले आगामी पाँच वर्षका लागि कांग्रेसको बागडोर सम्हाल्नेछ । कांग्रेसको १३ औं महाधिवेशन भोलि सुरु हुनेछ र उद्घाटन समारोह खुलामञ्चमा हुनेछ ।

Don't Forget To Join US Our Community

pupup